मार्च १९ का दिन बास्क नागरिकहरूले कुनै पनि देशले आफ्नो भाषाका लागि गर्ने सबैभन्दा ब्यापक पहल शुरु गर्दैछन्। लाखौ मानिसहरु सहभागी हुने यस अभियानमा उनीहरुले भाषाको प्रतीकको रुपमा रहेको एक सानो लट्ठी अटुट रुपमा एक हातबाट अर्को हातमा हस्तान्तरण गर्ने छन्। ११ दिन र १० रात चल्ने यो २१० घण्टे भाषा उत्सवले प्राय जसो सबै बास्क गाउँ र शहरहरु हुँदै झण्डै २३०० किलोमिटरको दूरी पुरा गर्ने छ। बास्क क्षेत्र युरोपमा फ्रान्सेली राज्यको दक्षिणी भाग र स्पेनी राज्यको उत्तरी भागमा अवस्थित छ।
निम्न भिडियो मा गत वर्ष को दौडका केही तस्बिरहरू देख्न सकिन्छ:
आयोजकहरुले उक्त लट्ठीमा एक गोप्य सन्देश राख्ने छन् जुन हजारौं हातबाट पार गरि सकिए पछि यस उत्सवको अन्त्यमा पढिईनेछ । बास्कको प्रतीक भएको यो काठको लट्ठी बोक्नुलाई एक सम्मानको रुपमा लिइने भएकोले विभिन्न संघ, संगठन र व्यक्ति बिशेषले पनि बास्क भाषा को समर्थनमा केहि किलोमिटर "किन्ने" गर्छन्। AEK, वयस्क हरुलाई बास्क भाषा सिकाउने संस्था, यस विशाल भीड सहभागी अर्थ संकलन अभियानको आयोजक हो र संकलित रकम उसैकोमा जानेछ ।
लोपोन्मूख भैसकेको यो बास्क भाषा वर्तमान अवस्थामा करिब दश लाख मानिसहरूले बोल्छन र योनेस्कोको अनुसार यो भाषा लोप हुने जोखिममा छ, बिशेष गरी केही क्षेत्रमा। केही क्षेत्रहरुमा यो आधिकारिक भाषा भए पनि धेरै बास्क आधिकारिक इलाकामा छैन। कोर्रिकाले उत्सवको वातावरण सँगै सम्पूर्ण इलाकालाई एक ठाउँमा ल्याउँछ। आफ्नो गाउँ र शहरमा कोर्रिका पुगेको समयमा आफ्नो भाषालाई समर्थन गर्ने नागरिकहरुले विभिन्न प्रकार कार्यक्रमको आयोजना गर्नेछन।
यो अभियान का साथसाथै यसको आयोजक, AEK, को सृष्टि पनि नागरिकहरुको आफ्नै पहलमा भएको थियो। कोर्रिका हरेक दुई वर्षमा एक पटक आयोजना गरिन्छ र यो वर्ष चाहि १९ औं संस्करण हो। यसको सफलताका कारण न्युन भाषा प्रयोग भएका अन्य समुदायहरुले पनि आफ्ना देशमा यस्तै किसिमका पहल शुरु गरेका छन्। कातालोनिया, आयरल्याण्ड, वेल्स, गालिसिआ र आरान उपत्यकामा पनि आफ्नो भाषाको समर्थनमा यस्ता दौड दौडिन्छन।

एउस्कारा (बास्क भाषा)लाई कोर्रिका को आवश्यकता किन पर्यो ?
बास्क भाषाले धेरै अवरोह बेहोरेको छ, विशेष गरी गएका तीन शताब्दीमा। उनीहरुले जानेको एक मात्र भाषा बास्क बोलेकोमा गिज्याईँनु, जरिवाना तिर्नु र पिटाइ खानु बास्कहरुले बेहोरेका केही उदाहरणहरू हुन। आफ्नो भाषा परिवर्तन गर्न मानिसहरूलाई अन्य तत्वहरू मध्ये मनोवैज्ञानिक दबाबले प्रमुख भूमिका खेलेको थियो। बास्क भाषा विरुद्ध स्पेन र फ्रान्स द्वारा लागू गरिएको भाषिक नीतिले प्रत्यक्ष प्रभाव पारेको छ भन्ने कुरामा लगभग सबै भाषाविद हरु सहमत छन् ।
बास्क भाषाले भोगेको शोषणको सायद सबै भन्दा बलियो प्रतीक औंठी हो। विद्यालयमा बास्क बोल्न प्रतिबन्ध थियो। जब शिक्षकले कुनै बच्चाले बास्क बोलेको सुन्थे, त्यो बच्चालाई एक औंठी दिन्थे। त्यो बच्चाले बास्क बोल्ने कुनै अर्को बच्चालाई उक्त औंठी दिनु पर्थ्यो। यसरि उनीहरुले बच्चा-बच्ची लाई एकअर्काको चियो गराउँथे र हप्ताको अन्तमा जो संग औंठी हुन्थ्यो उसले अक्सर शारीरिक सजाय भेट्थ्यो। थुप्रै बास्कहरुले त्यहि औंठीको कारणले आफ्नो भाषालाई घृणा गरे र त्यसमा अन्तर्निहित पिडाका कारण आफ्ना छोराछोरीलाई अभिबावकले आफ्नो भाषा हस्तान्तरण गर्न इन्कार गरे। बास्क क्षेत्रमा संकलित सामग्रीहरुले यो औंठीको अभ्यास कम्तीमा पनि गएका अन्तिम दुई शताब्दीमा एक सामान्य अभ्यासको रुपमा रहेको देखाउँछन। यो औंठी अभ्यासको पिडा भोग्ने धेरै बास्कहरु अझै जीवित छन्।
४० बर्षे तानाशाहीको समयमा बास्क भाषा प्रतिबन्धित थियो। बास्क भाषामा कुराकानी गर्ने मानिसलाई सजाय गर्नको लागि सादा पोशाकका प्रहरीहरू बाटामा मानिसले बोल्ने भाषाको जासुसी गर्ने गर्थे। आधुनिकीकरण विरुद्धको भाषा भएको तर्क दिएर तिनीहरूले यो बास्क भाषालाई सार्वजनिक जीवनबाट लगभग मेटी सकेका थिए।
मानिसहरुले ५० को दशकमा गुप्त संरचनाको स्थापना गरे अनि ६० को दशक देखि निजि घरहरुमा बास्क सिकाउन थाले। यसरि आफ्नो भाषाको समर्थनमा एक नयाँ आन्दोलनको जन्म भएको थियो। ७० को दशकको राजनीतिक आन्दोलनको आँधिबेरीको परिस्थितिमा यो बास्क भाषा आन्दोलनको समर्थनमा स्थापित AEK विद्यालयहरूमा (AEK: समुदाय आधारित बास्क भाषा शिक्षण गर्ने संस्था) हजारौं बास्क नागरिक बास्क भाषामा साक्षर भए। तानाशाही सिद्धिएपछि, १९८० मा उक्त समयका केहि दूरदर्शी व्यक्तिहरुले अर्थ संकलन गर्न यो दौड (कोर्रिका) को आयोजना गर्ने जुक्ति ल्याए।
यो कार्यक्रमको ३५ वर्ष पछि पनि यो भाषा बोलिने धेरै इलाकामा बास्क भाषा अझै आधिकारिक छैन। केही इलाकाका सार्वजनिक विद्यालयमा बास्क भाषाको माध्यमबाट अध्ययन गर्ने सम्भावना नभएको परिणाम स्वरुप हजारौ बच्चा-बच्ची प्रति वर्ष हजारौ किलोमिटर को यात्रा गर्न बाध्य छन्। बास्क भाषा आधिकारिक भएका क्षेत्रहरुमा महत्वपूर्ण प्रगति भएको छ तर फेरि पनि स्पेनी सरकारले नगर परिषदले बास्क भाषाको माध्यममा विद्यालय सञ्चालन गरेको भनेर अदालतमा उजुरी गरिरहन्छ। यसका अलावा बास्क मानिसहरूले २००३ मा स्पेनी प्रहरीले बास्क भाषामा सम्पादित एक मात्र अखबार बन्द गराएको घटना पनि सायदै बिर्सन सक्छन्। दैनिक खबर पत्रिका "एगुनकारिआ" को जन-कोष संकलन गरेर वित्त ब्यबस्थापन गरिएको थियो। निर्देशक समितिका सदस्यहरुलाई पक्राउ गरेर स्पेनी प्रहरी यातना दियो। फ्रान्सेली राज्यमा फ्रान्सेली भाषा मात्र आधिकारिक भाषा छ र बास्क भाषाको माध्यम मार्फत सिकाउने बिद्यालयहरुलाई विगतमा अदालत लगिएको छ। यसबाहेक, पछिल्लो जनवरीमा मात्र बास्क भाषालाई उसको आधिकारिक भाषाको रूपमा घोषणा गरिएको एक गाउँलाई पनि अदालतमा लगियो।

"बास्क भाषाको प्रसारण गरौ र कोर्रिका सबै जना सहभागी बनौ।"
केही विशेषज्ञहरूका अनुसार विश्वमा हाल अस्तित्वमा रहेका करिब ७००० भाषाहरू मध्ये आधा जति यहि शताब्दीमा लोप हुनेछन। बास्क क्षेत्रमा बास्क भाषा लाई सामान्य अवस्थामा ल्याउन अझै धेरै काम गर्नु छ तर पनि यो भाषा आफैनै अझ सम्म जीवित छ।
"एउस्कारा, बास्क भाषा, मात्र हाम्रो मुक्त क्षेत्र हो।" " भाषा नजान्ने मानिसले नसिकेर भाषा मर्दैन तर जान्ने मानिसले प्रयोग नगरे अवश्य मर्छ।" "तपाईंले बास्क बोलेको सुन्दा कति रमाइलो देखिएको।" यस्ता केहि वाक्यहरु तपाईं टी-शर्ट, बार तथा बास्क क्षेत्रका सडकमा देख्न सक्नु हुन्छ। सयौं स्वयम्सेवकको अर्थपूर्ण सहभागिताको माग गर्ने यो विशाल पहल कोर्रिकालाई सफलतापूर्वक आयोजना गर्दा हामी गर्व गर्छौ । यस पहल संगै हजारौं बास्क नागरिक आफ्नो भाषा प्रतिको समर्थनमा आफ्नो भित्री ऊर्जा लाई सक्रिय बनाउँछन, आफैलाई सशक्तिकरण गर्छन् र यस संसार प्रतिको आफ्नै दृष्टिकोण सहित बाँचिरहने छन।
टिप्पणी: ARGIA का लागि लान्देर आर्बेलाइच द्वारा एउस्कारामा लिखित मूल लेखलाई भबेन्द्र भण्डारी बाट नेपालीमा अनुवाद गरिएको।
Oharra: Originala Lander Arbelaitzek ARGIArako euskaraz idatzia. Nepalierara itzulpena Bhabendra Bhandarik.
